लिड्ससँग स्तब्ध बन्यो लिडर सिटी (भिडियोसहित)

एजेन्सी । लिग उपाधि जित्ने अभियान नजिक पुगिरहेका बेला इङलिस प्रिमियर लिगतर्फ शनिबार लिगलिडर म्यानचेष्टर सिटीले दश खेलाडीमा खुम्चिएको लिडस युनाइटेडसँग १–२ को हार बेहोरेको छ ।

सिटीको घरेलु मैदानमा सम्पन्न खेलमा लिडसका लागि स्टुआर्ट डालास नायक बने । डालासले पाहुना टोलीका लागि दुवै गोल गरे । उनले मध्यान्तर हुनु तीन मिनट अघि लिडसलाई शुरुवाती अग्रता दिलाएका थिए ।

यद्यपि पहिलो हाफ कै इन्जुरी समयमा लिडसका कप्तान लियाम कुपरले सिटीका ग्याब्रिल जिसुसमाथि डरलाग्दो फल गर्दा कुपरले रातो कार्ड खाँदै मैदान छाड्न पुगेका थिए । जसको फाईदा सिटीले दोस्रो हाफमा उठायो ।

७६औं मिनटमा फेरान टोरेसले सिटीका लागि बराबरी गोल फर्काए । तर पनि घरेलु टोली अन्तिम मिनट सम्हालिन सकेन । खेलको अन्तिमतिर स्टुआर्ट डालासले नै लिडसका लागि दोस्रो तथा निर्णायक गोल गर्दै पाहुना टोलीको जित पक्का गरेका थिए ।

यो जितपछि ३१ खेलबाट ४५ अंक जोडेको लिडस दशौं स्थानमा छ । उता पराजित सिटी भने ३२ खेलबाट ७५ अंकका साथ शिर्ष स्थानमा छ । साथै दोस्रो स्थानको शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेड भन्दा १४ अंकले अगाडी छ । यद्यपि युनाइटेडले दुई खेल कम खेलेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...