पोर्टोमाथि चेल्सीको प्रभाव (भिडियोसहित)

एजेन्सी । प्रिक्वाटरफाइनलमा युभेन्टसलाई हराएर सनसनी मच्याएको एफसी पोर्टोले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बुधबार भने चेल्सीसँग पराजित भएको छ ।

स्पेनको सेभिलेमा सम्पन्न पहिलो लेगको खेलमा चेल्सीले पोर्टोमाथि २–० को जित निकाल्दै अन्तिम चारमा पुग्ने आफ्नो सम्भावना बलियो पनि बनायो ।

लण्डन क्लब चेल्सीको जितमा दुवै गोल इङलिस खेलाडीको नाममा रह्यो । ३५औं मिनटमा मेसन माउण्टले ब्लुजका लागि पहिलो गोल गरे भने बेन चिलवेलले ८५औं मिनटमा दोस्रो गोल थप्दै चेल्सीको जित पक्का गरेका थिए ।

यो जितसँगै प्रिमियर लिगमा शनिबार चेल्सीले वेस्ट ब्रोमको हातबाट बेहोरेको फराकिलो हारलाई केही हदसम्म राहत मिलेको छ । स्मरण रहोस, ब्लुजले वेस्ट ब्रोमसँग ५–२ को हार बेहोर्दा लण्डन क्लबको आलोचना पनि भएको थियो ।

यद्यपि बुधबार रातीको यो जितसँगै चेल्सीको च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना पनि केही हदसम्म सहज भएको अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...