पाँच गोलको ‘थ्रीलर’मा बायर्नमाथि पिएसजीको जित (भिडियोसहित)

एजेन्सी । च्याम्पियन्स लिगको क्वाटरफाइनलतर्फ बुधबार राती गत सिजनको फाइनल रिप्लेका रुपमा हेरिएको साविक विजेता बायर्न म्युनिख र उपविजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) बीचको खेलमा पिएसजी सफल भएको छ ।

बायर्नको घरेलु मैदानमा सम्पन्न क्वाटरफाइनलको पहिलो लेगमा पिएसजीले बायर्नमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो । खेलमा दुई गोलको शुरुवाती अग्रता पनि पिएसजीले लिएको थियो ।

खेल शुरु भएको तेस्रो मिनटमै काइलन एम्बाप्पेले पाहुना टोलीका लागि पहिलो गोल गरे । २८औं मिनटमा मार्किन्होजले त्यो अग्रता दोब्बर पारे । उता आफ्ना केही महत्वपूर्ण खेलाडी बिना उत्रिएको बायर्नका लागि ३७औं मिनटमा चुपो मोटिङले पहिलो गोल फर्काए भने ६०औं मिनटमा थोमस मुलरले दोस्रो गोल फर्काउँदै खेललाई २–२ को बराबरीमा ल्याएका थिए ।

यद्यपि बायर्नले त्यो बराबरी गोलको खुशी धेरैबेर मनाउन सकेन । दोस्रो बराबरी गोल खाएको आठ मिनट लगतै एम्बाप्पेले नै पिएसजीका लागि तेस्रो गोल गर्दै पाहुना टोलीको रोमाञ्चक जित पक्का गरेका थिए । एम्बाप्पेले गरेको दुवै गोलका लागि ब्राजिलियन स्टार नेमारले पास मिलाइदिएका थिए ।

अब दोस्रो लेगको खेल १३ अप्रिलका लागि पिएसजीको घरेलु मैदानमा हुनेछ । जहाँ बार्यनलाई केही कठिन पनि भइदिन सक्ने अनुमान गरिएको छ । त्यस्तै पिएसजीलाई भने महत्वपुर्ण अवे गोलको पनि साथ रहनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...