अरबौंको नोक्सानीमा म्यानचेष्टर सिटी

एजेन्सी । यस सिजन इङलिस प्रिमियर लिगको लिगलिडर म्यानचेष्टर सिटीले गत सिजन अर्थात २०१९–२० को सिजनमा अरबौंको नोक्सानी बेहोरेको रिपोर्ट सार्वजनिक गरेको छ ।

रिपोर्टअनुसार सिटीले गत सिजन १२६ मिलियन पाउण्ड (२० अरब रुपैयाँ भन्दा बढी) को नोक्सानी बेहोरेको जनाएको छ । स्रोतका अनुसार सिटीले कुल आयको ११ प्रतिशत नोक्सानी बेहोरेको छ ।

यद्यपि त्यो नोक्सानीमा गत सिजन स्टार खेलाडी लेरोए सानेलाई बायर्न म्युखिनमा बेच्दाको आम्दानी भने समेटिएको छैन । साथै त्यो नोक्सानी रकम यस सिजन उठाउने लक्ष्य लिएको समेत क्लबले जनाएको छ ।

स्मरण रहोस, कोरोना भाइरस महामारीका कारण गत बर्ष मार्च देखि जुनसम्म इङलिस फुटबल गतिविधी रोकिएको थियो । खासमा त्यतिबेला विश्व खेलकुद जगत नै बन्द जस्तै थियो ।

साथै महामारी यता खेलहूर सूचारु भए तापनि कतिपय क्लबहरुले अझै पनि आफ्ना फुटबल समर्थकहरुलाई मैदानमा प्रवेश गर्न अनुमति दिन सकेका छ्रैनन् । जसमा सिटीका फ्यानहरुको उपस्थिति पनि शून्य जस्तै छ ।

यद्यपि उता सिटीका अध्यक्ष खल्दुन अल मुबारकले क्लबको आर्थिक अवस्था बलियो रहेको र शेयर सदस्यहरु पनि क्लबप्रति समर्पित रहेको बताउँदै यो परिस्थतिबाट आफूहरुले छिटै पार पाउने समेत बताएका छन् ।

यस सिजन प्रिमियर लिगको उपाधि जित्ने होडमा बलियो दावेदारका रुपमा रहेको सिटी लिगतालिकामा दोस्रो स्थानको टोली तथा शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेडभन्दा १४ अंकले अगाडी समेत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...