बुण्डेसलिगामा बायर्न पराजित (भिडियोसहित)

एजेन्सी । जर्मन बुण्डेसलिगामा आफ्नो वर्चश्व कायम राखेको साविक विजेता बायर्न म्युनिखले शनिबार राती फ्रान्कफर्टसँग १–२ को निराशाजनक हार बेहोरेको छ ।

फ्रान्कफर्टको घरेलु मैदानमा भएको खेलको १२औं मिनटमा डाइची कमाडाको गोलबाट घरेलु टोलीले खेलमा अग्रता लिएको थियो । ३१औं मिनटमा अमिन युनेसले घरेलु टोलीका लागि दोस्रो गोल गरे । जुन खेलको निर्णायक गोल पनि बन्यो ।

उता बायर्नका लागि दोस्रो हाफको ५३औं मिनटमा रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए तापनि लिगलिडरको स्तब्धपुर्ण हार जोगाउन त्यो गोल प्रर्याप्त बन्न सकेन । यो हारसँग बायर्नले लिगतालिकामा स्पष्ट आठ अंकको अग्रता बनाउने अवसर पनि गुमाएको छ ।

शनिबारको त्यो नतिजापछि २२ खेलबाट ४९ अंक जोडेको बायर्न शिर्ष स्थान मै यथावत छ । २१ खेलबाट ४४ अंक जोडेको आरबी लिपजिग भने दोस्रो स्थानमा छ । उता बायर्नलाई हार चखाएको फ्रान्कफर्ट भने २२ खेलबाट ४२ अंकका साथ चौथो स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...