एजेन्सी । यस सिजन स्पेनिस ला लिगामा उत्कृष्ट लयमा रहेको लिगलिडर एटलेटिको मेड्रिडले शनिबार राती लेभान्टेसँग ०–२ को स्तब्धपुर्ण हार बेहोरेको छ । यो हारसँग एटलेटिकोको शिर्ष स्थानको आफ्नो वर्चश्व पनि केही फिका भइदिएको छ ।
एटलेटिकोको घरेलु मैदानमा भएको खेलमा ३०औं मिनटमा मारियो हर्मोसोको आत्मघाती गोलबाट लेभान्टेले खेलमा अग्रता लिएको थियो । त्यस्तै खेलको अन्तिमतिर इन्जुरी समयमा जर्ज डि फ्रुटोसले दोस्रो गोल थप्दै पाहुना टोलीलाई एटलेटिकोमाथि लिगमा पहिलो जित दिलाउन समेत सफल भए ।
स्मरण रहोस, सन् २०१९ को डिसेम्बर यता एटलेटिकोले घरमा बेहोरेको यो पहिलो हार समेत थियो । यो हारका बावजुद २३ खेलबाट ५५ अंक जोडेको एटलेटिको शिर्ष स्थानमा यथावत नै छ । उता लेभान्टे भने २४ खेलबाट ३१ अंकका साथ आठौं स्थानमा उक्लिएको छ ।