थ्रीलर म्याचमा घरमै रोकियो बायर्न (भिडियोसहित)

एजेन्सी । जर्मन बुण्डेसलिगा च्याम्पियन बायर्न म्युनिख सोमबार राती घरेलु मैदान मै अर्मिनियासँग ३–३ गोलको बराबरी खेल्दै रोकिएको छ । खेलमा तीन पल्ट पछि परेको स्थिति उल्टाउँदै बायर्नले ६ गोलको थ्रीलर म्याचमा रोमाञ्चक बराबरी खेल्यो ।

खेल शुरु भएको नवों मिनटमै मिचेल ल्यापले अर्मिनियाका लागि सनसनीपूर्ण गोल गर्दै पाहुना टोलीलाई खेलमा अग्रता दिलाएका थिए । एमोस पाइपरले ३७औं मिनटमा पाहुना टोलीको त्यो अग्रता दोब्बर पारे ।

यद्यपि बायर्नले दोस्रो हाफमा खेलमा पूनःरागमन गर्यो । मध्यान्तर लगतै रोबर्ट लेवान्डोस्कीले बायर्नका लागि पहिलो गोल फर्काए । तर त्यसको एक मिनट पनि बित्न नपाउँदै क्रिष्टियन गिबरले अर्मिनियाका लागि तेस्रो गोल फर्काए ।

तेस्रो गोल खाएर थप दबाबमा परेको बायर्नले खेलमा हार भने मानेन । ५७औं मिनटमा कोरिन्टन टोलिसोले बायर्नका लागि दोस्रो गोल फर्काए भने ६९औं मिनटमा अल्फोन्सो डेविसले तेस्रो गोल गर्दै बायर्नको सम्भावित हार टारेका थिए ।

यो बराबरी नतिजाका बावजुद बायर्न २१ खेलबाट ४९ अंकका साथ लिगतालिकाको शिर्ष स्थानमा यथावत छ । उता अर्मिनिया भने २० खेलबाट १८ अंकका साथ लिगतालिकाको १६औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...