आर्सनलको जितमा औबमेयङको ह्याट्रिक

एजेन्सी । पारिवारिक समस्याका कारण जनवरीको अन्तिमतिर क्लबका लागि केही महत्वपूर्ण खेलहरु गुमाएका गाबोन स्टार पिएरे एमरिक औवमेयङले इङलिस प्रिमियर लिगतर्फ आइतबार राती लिड्स युनाइटेड विरुद्ध ह्याट्रिक गरेका छन् । साथै आर्सनलाई ४–२ को प्रभावशाली जित समेत दिलाएका छन् ।

आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलको १३औं मिनटमा औवमेयङले पहिलो गोलको खाता खोलेका थिए भने ४१औं मिनटमा पेनाल्टीबाट दोस्रो गोल थपेका थिए । त्यसको चार मिनट लगतै हेक्टर बेलारिनले आर्सनलका लागि तेस्रो गोल गर्दा गनर्सले पहिलो हाफ मै ३–० को अग्रता बनाउन सफल भएको थियो ।

त्यस्तै दोस्रो हाफ शुरु भएको दोस्रो मिनट मै औवमेयङले व्यक्तिगत तेस्रो र टोलीका लागि चौथो गोल गरे र आफ्नो ह्याट्रिक पनि पूरा गर्न सफल भए । उता लिड्सका लागि ५८औं मिनटमा पास्कल स्ट्रुकले पहिलो गोल फर्काए । त्यसैगरी ६९औं मिनटमा हेल्डर कोस्टाले लिडसका लागि दोस्रो गोल थपे । तर टोलीलाई हारबाट भने जोगाउन सकेनन् ।

यो जितसँगै आर्सनल २४ खेलबाट ३४ अंक जोड्दै लिगतालिकाको दशौं स्थानमा उक्लिएको छ । उता पराजित लिड्स भने २३ खेलबाट ३२ अंकका साथ लिगतालिकाको ११औं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...