लिगलिडर मिलान र युभेन्टसको हार

एजेन्सी । इटालियन सिरि ए तर्फ दुई दावेदार टोली एसी मिलान र युभेन्टसले आ–आफ्नो खेलमा शनिबार राती स्तब्धपुर्ण हार बेहोरेका छन । मिलानले तुलनात्मक रुपमा कमजोर आँकिएको स्पेजियासँग ०–२ को हार बेहोर्यो भने युभेन्टस नापोलीसँग ०–१ ले स्तब्ध हुन पुग्यो ।

सिरि ए मा यसै सिजन बढुवा भएको स्पेजियाका लागि जुलियो म्यागोरले ५६औं मिनटमा पहिलो गोल गरे भने ६७औं मिनटमा सिमोन बास्टोनीले दोस्रो गोल थप्दै टोलीको सनसनीपुर्ण जित पक्का गरेका थिए ।

यो जितसँगै २२ खेलबाट २४ अंक जोडेको स्पेजिया लिगतालिकाको १४औं स्थानमा उक्लिएको छ । उता मिलान भने ४९ अंकका साथ शिर्ष स्थानमा यथावत छ । यद्यपि मिलानको शहरी प्रतिद्वन्द्वी तथा दोस्रो स्थानको टोली इन्टर मिलानले आइतबार लाजियोलाई हराउन सके इन्टर शिर्ष स्थानमा उक्लिन सफल हुनेछ ।

युभेन्टस पनि निराश

त्यस्तै शनिबार राती साविक विजेता युभेन्टसले नापोलीसँग ०–१ को स्तब्धपुर्ण हार बेहोर्यो । खेलको ३१औं मिनटमा लोरेन्जो इन्सिनेले गरेको एक मात्र पेनाल्टी गोल खेलको निर्णायक गोल बन्यो ।

यो हारका बावजुद २१ खेलबाट ४२ अंक जोडेको युभेन्टस लिगतालिकाको तेस्रो स्थानमा छ । उता नापोली भने ४० अंकका साथ चौथो स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...