बार्सिलोनाको शानदार जितमा मेसीको दुई गोल (भिडियोसहित)

एजेन्सी । स्पेनिस ला लिगातर्फ शनिबार राती बार्सिलोनाले लगातार सातौं जित निकाल्ने क्रममा अलावेसलाई ५–१ ले हराउँदै लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सम्पन्न खेलको २९औं मिनटमा फ्रान्चिस्को ट्रिन्कोको गोलबाट बार्साले खेलमा अग्रता बनाएको थियो । लियोनस मेसीले पहिलो हाफ कै इन्जुरी समयमा त्यो अग्रता दोब्बर पारे ।

उता मध्यान्तर पछिको ५७औं मिनटमा लुइस रोजाले अलावेसका लागि गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे तापनि सफल भएनन् । दोस्रो हाफमा थप आक्रमक बनेको बार्सिलोना दश मिनट भित्र तीन गोल थप्न सफल भएको थियो ।

७४औं मिनटमा ट्रिन्कोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे भने त्यसको एक मिनट लगतै मेसीले पनि व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल थपे । त्यस्तै अन्तिम गोल भने ८०औं मिनटमा जुनियर फिर्पोले गर्दै बार्सिलोनाको शानदार जित पक्का गरे ।

यो जितसँगै २२ खेलबाट ४६ अंक जोडेको बार्सिलोना लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । र लिगलिडर एटलेटिको भन्दा ८ अंकले पछाडी छ । एटलेटिकोले एक खेल कम समेत खेलेको छ । उता बार्साको परस्पर प्रतिद्वन्द्वी रियल मेड्रिढ समान ४६ अंक भए तापनि हेड टु हेडका आधारमा तेस्रो स्थानमा छ ।

त्यस्तै पराजित अलावेस भने २३ खेलबाट २२ अंकका साथ १६औं स्थानमा छ । रेलिगेशन क्षेत्रको टोली रियल भालाडोलिड भन्दा मात्र १ अंकले अगाडी छ ।


प्रतिक्रिया दिनुहोस

Loading...