किंग पावरमा लिभरपुल हार्यो, सिटीलाई फाईदा (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ साविक विजेता लिभरपुलले शनिबार लेस्टर सिटीसँग उसकै घरमा ३–१ को हार बेहोरेको छ । खेलमा शुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा रेडसले किंग पावर स्टेडियममा हार बेहोर्न बाध्य भयो ।

६७औं मिनटमा मोहमद सलाहको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । तर खेलमा उत्कृष्ट पूनःरागमन गरेको लेस्टरका लागि ७८औं मिनटमा जेम्स मेडिसनले बराबरी गोल फर्काए । त्यसको तीन मिनट लगतै जेमी भार्डीले दोस्रो गोल गर्दै लेस्टरलाई २–१ को अग्रता दिलाए ।

दोस्रो गोल गरेको चार मिनट बित्न नपाउँदै ८५औं मिनटमा हार्वी बार्नेसले तेस्रो गोल थप्दै फक्सेसको शानदार जित पक्का गरेका थिए । यो जितसँगै २४ खेलबाट ४६ अंक जोडेको लेस्टर दोस्रो स्थानमा छ । उता पराजित लिभरपुल भने ४० अंकका साथ चौथो स्थानमा छ ।

लिभरपुलको यो हारले शिर्ष स्थानको म्यानचेष्टर सिटीलाई पनि केही फाईदा पुगेको छ । सिटी २३ खेलबाट ५३ अंकका साथ शिर्ष स्थानमा छ । र शनिबार नै हुने खेलमा टोटेनह्यामलाई हराउन सके दोस्रो स्थानको लेस्टरसँगको दुरी दश अंकमा बढाउन सफल हुनेछ । लिभरपुलभन्दा भने १६ अंकले अगाडी बढ्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...