नौ गोलको थ्रीलरमा टोटेनह्याम माथि इभर्टनको सनसनी

एजेन्सी । इङलिस एफए कपको पाँचौं चरणको खेलतर्फ सनसनीपूर्ण जित निकाल्दै इभर्टन क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राती घरेलु मैदान गुडिसन पार्कमा सम्पन्न खेलमा इभर्टनले बलियो टोटेनह्याम हटसपरमाथि ५–४ को सनसनीपूर्ण जित हात पार्यो ।

खेलको तेस्रो मिनटमै डेविन्सन सान्चेजको गोलबाट टोटेनह्यामले खेलमा अग्रता बनाएको थियो । तर ३६औं मिनटमा डोमिनिक कलभर्ट लेविनले इभर्टनका लागि बराबरी गोल फर्काए । त्यसको दुई मिनट लगतै रिचार्लीसनले गोल गर्दै इभर्टनलाई २–१ को स्थितिमा पुर्याए ।

४३औं मिनटमा इभर्टनले पेनाल्टीको अवसर पनि पायो । जसलाई जिल्फी सिगुर्डसनले सहजै गोलमा परिणत गर्दै घरेलु टोलीलाई ३–१ को बढत दिलाए । यद्यपि पहिलो हाफ कै इन्जुरी समयमा इरिक लामेलाले टोटेनह्यामका लागि दोस्रो गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएका थिए ।

दोस्रो हाफमा खेल थप रोमाञ्चक बन्यो । ५७औं मिनटमा डेविन्सन सान्चेजले व्यक्तिगत दोस्रो तथा टोटेनह्यामका लागि तेस्रो गोल थप्दै खेललाई ३–३ को रोमाञ्चक स्थितिमा ल्याए । तर पनि खेल त्यति मे रोकिएन । खेलको ६८औं मिनटमा रिचार्लीसनले व्यक्तिगत दोस्रो तथा इभर्टनका लागि चौथो गोल थपे ।

उता ८३औं मिनटमा हेरि केनले टोटेनह्यामका लागि चौथो गोल गर्दै खेललाई फेरि रोमाञ्चक स्थितिमा ल्याए । निर्धारित समयको खेल ४–४ को स्थितिमा सकिए पछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयतर्फ भने ९७औं मिनटमा इभर्टनका लागि बनार्डले पाँचौं तथा निर्णायक गोल गर्दै घरेलु टोलीलाई क्वाटरफाइनलमा पुर्याए ।


प्रतिक्रिया दिनुहोस

Loading...