सुआरेजले दुई गोल गरेपनि रोकियो एटलेटिको (भिडियोसहित)

एजेन्सी । स्पेनिस ला लिगातर्फ सोमबार राती लुइस सुआरेजले दुई गोल गरेको खेलमा लिगलिडर एटलेटिको मेड्रिडले सेल्टा विगोसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

एटलेटिकोको घरेलु मैदानमा भएको खेलको १३ओं मिनटमा मिना लोरेन्जोको हेड गोलबाट सेल्टाले खेलमा अग्रता बनाएको थियो । तर पहिलो हाफतर्फ कै ४५औं मिनटमा सुआरेजले एटलेटिकोका लागि बराबरी गोल फर्काउन सफल भए ।

त्यस्तै दोस्रो हाफ शुरु भएको पाँच मिनट लगतै सुआरेजले नै घरेलु टोलीका लागि दोस्रो गोल थपे । तर एटलेटिकोले त्यो अग्रता कायम राख्न सकेन । एटलेटिको जित नजिक पुगेकै बेला सेल्टाका लागि ८९औं मिनटमा फाकुन्डो फरेराले गोल गर्दै खेललाई २–२ गोलको रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

यो नतिजापछि २० खेलबाट ५१ अंक जोडेको एटलेटिको लिगतालिकाको शिर्ष स्थानमा यथावत छ । साथै यस सिजन एक खेलमा मात्र हार बहोरेको एटलेटिको दोस्रो स्थानको बार्सिलोना भन्दा आठ अंकले अगाडी समेत छ । उता सेल्टा विगो भने २२ खेलबाट २६ अंकका साथ दशौं स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...