एजेन्सी । स्पेनिस ला लिगातर्फ वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेको दुई मिनट मै लियोनल मेसीले गोल गरेपछि बार्सिलोनाले आइतबार राती रियल बेटिसलाई उसकै घरमा ३–२ ले हराएको छ ।
खेलको ३८औं मिनटमा बोर्जा इग्लेसियसको गोलबाट बेटिसले खेलमा सनसनीपूर्ण अग्रता लिएको थियो । दोस्रो हाफतर्फ ५७औं मिनटमा मेसी मैदानमा प्रवेश गरे । लगतै ५९औं मिनटमा उनले बार्सिलोनाका लागि बराबरी गोल फर्काउन सफल भए ।
त्यस्तै ६८औं मिनटमा बेटिसका भिक्टर रुईजले आत्मघाती गोल गर्न पुग्दा बार्सिलोनाले खेलमा २–१ को अग्रता बनाएको थियो । तर रुईजले नै ७५औं मिनटमा बेटिसका लागि दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याए ।
यद्यपि बेटिसले त्यो बराबरी गोलको खुशी पनि धेरैबेर मनाउन सकेन । ८७औं मिनटमा फ्रान्सिस्को ट्रिन्कोले बार्सिलोनाका लागि तेस्रो तथा निर्णायक गोल गर्दै क्याटलन जायन्टलाई महत्वपूर्ण तीन अंक दिलाए ।
यो जितसँगै बार्सिलोना २१ खेलबाट ४३ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भए तापनि गोल भिन्नताका आधारमा रियल मेड्रिड तेस्रो स्थानमा झरेको छ । दुई खेल कम खेलेको एटलेटिको मेड्रिड भने ५० अंकका साथ शिर्ष स्थानमा यथावत छ । उता पराजित बेटिस भने २२ खेलबाट ३० अंकका साथ सातौं स्थानमा छ ।