ओल्ड ट्राफोर्डमा जित नजिक पुगेर पनि रोकियो म्यानचेष्टर

एजेन्सी । यस सिजन लिग उपाधिको दावेदार मानिएको म्यानचेष्टर युनाइटेडले दुई गोलको अग्रता पनि जोगाउन नसक्दा शनिबार प्रिमियर लिगमा इभर्टटनसँग ३–३ गोलको रोमाञ्चक बराबरीमा रोकिएको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलको २४औं मिनटमा इडिन्सन कावानीको गोलबाट म्यानचेष्टरले खेलमा अग्रता लिएको थियो । पहिलो हाफतर्फ कै ४५औं मिनटमा ब्रुनो फर्नान्डेसले त्यो अग्रता दोब्बर पारे ।

तर दोस्रो हाफमा इभर्टनले राम्रो लय समात्यो । ४९औं मिनटमा अब्दुलाई डुकुरेले इभर्टनका लागि पहिलो गोल फर्काए । त्यसको तीन मिनट लगतै जेम्स रोड्रिगेजले दोस्रो गोल गर्दै इभर्टनलाई खेलमा पनि फर्काए ।

यद्यपि उता ७०औं मिनटमा स्कट म्याक टोमिनेले म्यानचेष्टरका लागि तेस्रो गोल गर्दै घरेलु टोलीलाई खेलमा फेरि अग्रता दिलाए । तर त्यो अग्रता पनि रेड डेविल्सले जोगाउन सकेन ।

इभर्टनका लागि इन्जुरी समयको ९०+५औं मिनटमा डोमिनिक कलभर्ट लेविनले तेस्रो गोल गर्दै पाहुना टोलीलाई हारबाट मात्र जोगाएनन् बरु इभर्टनलाई महत्वपूर्ण १ अंक पनि दिलाउन सफल भए ।

यो नतिजासँगै म्यानचेष्टर युनाइटेड २३ खेलबाट ४५ अंकका साथ दोस्रो स्थानमा छ । साथै लिगलिडर म्यानचेष्टर सिटीभन्दा २ अंकले पछाडी छ । यद्यपि सिटीले दुई खेल कम खेलेको छ । उता इभर्टन भने २१ खेलबाट ३७ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...