आर्सनलमाथि भिल्लाको ऐतिहासिक ‘लिग डबल’

एजेन्सी । इङलिस प्रिमियर लिगमा एस्टन भिल्लाले २८ बर्षपछि आर्सनलमाथि एकै सिजन दोहोरो जितको ऐतिहासिक सफलता हात पारेको छ । शनिबार घरेलु मैदान भिल्ला पार्कमा सम्पन्न खेलमा एस्टन भिल्लाले आर्सनलमाथि १–० को साँघुरो जित निकाल्यो र ऐतिहासिक दोहोरो जित हात पार्न सफल भयो ।

यसअघि भिल्लो सन् १९९२–९३ को सिजनमा आर्सनलमाथि एकै सिजन दोहोरो जित हात पारेको छ । शनिबार भिल्लाको जितमा खेल शुरु भएको दोस्रो मिनटमै ओलि वाटकिन्सले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

साथै सन् २०११ पछि भिल्ला पार्कमा लगातार तीन प्रिमियर लिग म्याचमा गोल गर्ने वाटकिन्स क्लबका पहिलो खेलाडी समेत बने । यसअघि यो उपलब्धी सन् २०११ को सिजनमा डारेन बेन्टले हासिल गरेका थिए ।

यो जितसँगै भिल्ला २१ खेलबाट ३५ अंकका साथ लिगतालिकाको आठौं स्थानमा छ । उता पराजित आर्सनल भने २३ खेलबाट ३१ अंक जोड्दै लिगतालिकाको दशौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...