बार्सिलोनाको कठिन जितमा आठ गोलको ‘थ्रीलर’ (भिडियोसहित)

एजेन्सी । तीस पल्टको विजेता बार्सिलोनाले प्रतिष्ठित कोपा डेल रे को क्वाटरफाइनलमा कठिन जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको छ । बुधबार राती भएको खेलमा बार्सिलोनाले ग्रनाडा माथि अतिरिक्त समयमा ५–३ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

ग्रनाडाको घरेलु मैदानमा सम्पन्न खेलको ३३औं मिनटमा केनेडीको गोलबाट घरेलु टोलीले खेलमा अग्रता बनाएको थियो । ४७औं मिनटमा रोबर्टो सोल्डाडोले दोस्रो गोल थप्दा बार्सिलोना थप दबाबमा पर्न पुगेको थियो । तर घरेलु टोलीले त्यो अग्रता जोगाउन नसक्नु दुर्भाग्य बन्यो ।

खेलमा उत्कृष्ट पूनःरागमन गर्न सफल बार्सिलोनाका लागि ८८औं मिनटमा एन्टोइन ग्रीजम्यानले पहिलो गोल फर्काए भने इन्जुरी समयको ९०+२औं मिनटमा नाटकीय रुपमा जोर्डी अल्वाले दोस्रो गोल गर्दै खेललाई २–२ को रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

त्यसपछि थपिएको अतिरिक्त समयको १००औं मिनटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो तथा टोलीका लागि गोल गरे । तर खेलमा हार नमानेको ग्रनाडाले त्यसको तीन मिनट लगतै गोल फर्कायो । फोडे विकोले घरेलु टोलीका लागि पेनाल्टीबाट गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए ।

त्यसपछि भने बार्सिलोना हावी बन्यो । १०८औं मिनटमा फ्रेन्की डि जोंगले पाहुना टोलीका लागि चौथो गोल गरे भने ११३औं मिनटमा जोर्डी अल्वाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गर्दै बार्सिलोनालाई सेमिफाइनलको यात्रा तय गराउन सफल भए ।


प्रतिक्रिया दिनुहोस

Loading...