इन्टर विरुद्ध रोनाल्डो बने निर्णायक (भिडियोसहित)

एजेन्सी । राम्रो लयमा देखिएका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेपछि कोपा इटालियाको सेमिफाइनलतर्फ पहिलो लेगमा युभेन्टसले इन्टर मिलान विरुद्ध अग्रता बनाएको छ । इन्टरको घरेलु मैदान सान सिरो मै भएको पहिलो लेगको खेलमा युभेन्टसले २–१ को जित निकाल्यो ।

यद्यपि खेलमा अग्रता भने इन्टरले लिएको थियो । खेलको नवौं मिनटमा लौतारो मार्टिनेजले गोल गर्दै इन्टरलाई खेलमा अग्रता दिलाएका थिए । तर युभेन्टसका लागि रोनाल्डो नायक बने । रोनाल्डोले २६औं मिनटमा पेनाल्टीबाट गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यस्तै ३५औं मिनटमा दोस्रो थप्दै टोलीको जितमा निर्णायक बने ।

१३ पल्टको कोपा इटालिया विजेता समेत रहेको युभेन्टसले ९ फेब्रुअरी मंगलबारका दिन घरेलु मैदान टुरिनमा इन्टरको आतिथ्यता गर्नेछ । त्यो खेलमा युभेन्टसले गोलरहित बराबरी खेले पनि फाइनलमा स्थान बनाउन प्रर्याप्त बन्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...