ओल्ड ट्राफोर्डमा गोलको बर्षासँगै युनाइटेडको किर्तिमानी जित

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ म्यानचेष्टर युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा मंगलबार राती ९ खेलाडीमा सिमित साउथाम्पटनमाथि ९–० को फराकिलो जित हात पारेको छ ।

खेलको शुरुवात मै दश खेलाडीमा सिमित हुन पुगेको साउथाम्पटनले अन्तिमतिर अर्को रातो कार्डको सामना गर्दा पाहुना टोली निरीह बनिसकेको थियो । एलेक्स जान्केविजले खेल शुरु भएको दोस्रो मिनट मै रातो कार्ड खाँदा साउथाम्पटन दश खेलाडीमा खुम्चिएको थियो । दोस्रो रातो कार्ड भने ८६औं मिनटमा वान बेडनरेकले खान पुगेका थिए ।

उता फराकिलो जित निकाल्ने क्रममा आरोन वान बिसाकाले १८औं मिनटमा रेड डेविल्सका लागि पहिलो गोल गरेका थिए । लगतै २५औं मिनटमा मार्कस रेशफोर्डले त्यो अग्रता दोब्बर बनाए । ३४औं मिनटमा वान बेडनरेकले आत्मघाती गोल गर्न पुग्दा घरेलु टोलीले आफ्नो तेब्बर बनाउन सफल भएको थियो ।

खेलमा पूर्ण हावी देखिएको म्यानचेष्टरका लागि ३९औं मिनटमा इडिन्सन कावानीले चौथो गोल थपे । थप पाँच गोल भने दोस्रो हाफमा भयो । ६९औं मिनटमा एन्थोनी मार्शलले टोलीका लागि पाँचौं गोल गर्र्दा ७१औं मिनटमा स्कट म्याक’टोमिनेले छैटौं गोल थप्न सफल भए ।

८७औं मिनटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीबाट रेड डेविल्सका लागि सातौं गोल गरे भने थप दुई गोल अन्तिमतिर तीन मिनटको अन्तरालमा भएको थियो । ९०औं मिनटमा एन्थोनी मार्शलले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि आठौं गोल गरे भने त्यसको तीन मिनट लगतै डेनिल जेम्सले नवौं गोल गर्दै टोलीको किर्तिमानी जित पक्का गरे ।

साउथाम्पटनको किर्तिमानी हार

साउथाम्पटनको यो दोस्रो किर्तिमानी हार समेत थियो । यसअघि सन् २०१९ को अक्टुबरमा पनि साउथाम्पटनले लेस्टर सिटीसँग समान गोलअन्तरले पराजित भएको थियो । लेस्टरसँगको हार भने साउथाम्पटनले घरेलु मैदानमा बेहोरेको थियो । साथै मंगलबार रातीको त्यो हार साउथाम्पटनको क्लब इतिहास मै सबैभन्दा ठूलो अवे हार समेत थियो ।

उता यो जितसँगै २२ खेलबाट ४४ अंक जोडेको म्यानचेष्टर युनाइटेड लिगतालिकाको दोस्रो स्थानमा छ । र शिर्ष स्थानको शहरी प्रतिद्वन्द्वी सिटीसँगको समान अंक छ । यद्यपि सिटीले दुई खेल कम खेलेको छ । उता पराजित साउथाम्पटन भने २१ खेलबाट २९ अंकका साथ १२औं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...