मेसीको सुन्दर ६५०औं गोल (भिडियोसहित)

एजेन्सी । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले स्पेनिस ला लिगामा आइतबार बार्सिलोनाका लागि ६५०औं गोल उत्कृष्ट फ्रिकिकबाट गरेका छन् । क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई २–१ ले हराउँदा मेसीले क्लबका लागि ६५०औं गोल पूरा गरेका हुन् ।

साथै गत जनवरी १७ तारीखका दिन सम्पन्न स्पेनिस सुपर कपको फाइनलमा एथलेटिक क्लबसँग बेहोरेको ३–२ को हारको बदला लिन पनि बार्सिलोना सफल भएको छ ।

खेलमा बार्सिलोनाले २०औं मिनटमा मेसीको सुन्दर फ्रिकिक गोलबाट खेलमा अग्रता लिएको थियो । तर मध्यान्तरपछिको चार मिनट लगतै बार्सिलोनाले आत्मघाती गोल खान पुगेको थियो । विपक्षी खेलाडीको क्रसलाई क्लियर गर्ने क्रममा जोर्डी अल्वाले आफ्नै पोष्टमा बल छिराउन पुगेका थिए ।

यद्यपि खेलको ७४औं मिनटमा फ्रेन्च स्टार एन्टोइन ग्रीजम्यानले निर्णायक गोल गर्दै क्याटलन जायन्टलाई तीन अंक दिलाउन सफल भए । यो जितसँगै बार्सिलोना २० खेलबाट ४० अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भए तापनि बार्साले चिरप्रतिद्वन्द्वी रियललाई पछि पार्न सफल भएको हो ।

शनिबार नै केडिजलाई ४–२ ले हराएको लिगलिडर एटलेटिको मेड्रिड भने १९ खेलबाट ५० अंकका साथ शिर्ष स्थानमा यथावत छ । त्यस्तै बार्सिलोनासँग पराजित हुन पुगेको एथलेटिक क्लब भने २४ अंकका साथ ११औं स्थानभा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...