एजेन्सी । थोमस टुचेलले क्लबको प्रशिक्षकीय जिम्मेवारी सम्हालेयता चेल्सीले प्रिमियर लिगमा आइतबार पहिलो जित हात पारेको छ । यसअघि टुचेलको नेतृत्वमा चेल्सीले आफ्नो पहिलो खेलका रुपमा वुल्भरह्याम्पटनसँग गोलरहित बराबरी खेलेको थियो ।
आइतबार घरेलु मैदान स्टामफोर्ड ब्रीजमा सम्पन्न खेलमा चेल्सीले रेलिगेशन क्षेत्रतिर संघर्ष गरिरहेको टोली बर्नली विरुद्ध २–० को जित निकाल्यो । चेल्सीको जितमा खेलको ४०औं मिनटमा सिजर एजिपिलिक्वेटाले पहिलो गोल गरे । उनले केलम हडसन ओडोईको पासमा पहिलो गोल गरेका थिए ।
दोस्रो गोल भने अन्तिमतिर ८४औं मिनटमा मार्कोस अलोन्सोको नाममा रुह्यो । त्यो गोलका लागि क्रिष्टियन पुलिसिकले पास मिलाइदिएका थिए । यो जितसँगै चेल्सी २१ खेलबाट ३३ अंकका साथ लिगतालिकाको सातौं स्थानमा छ । उता पराजित बर्नली भने २० खेलबाट २२ अंकका साथ रेलिगेशन क्षेत्रभन्दा दुई स्थान माथि १६औं स्थानमा छ ।