सिरि ए मा दुई मिलानको प्रतिस्पर्धा

एजेन्सी । रोमाञ्चक बनेको इटालियन सिरि ए तर्फ शिर्ष स्थानमा दुई शहरी प्रतिद्वन्द्वी एसी मिलान र इन्टर मिलानको प्रतिस्र्धात्मक होड पनि रोमाञ्चक बनेको छ ।

शनिबार राती सम्पन्न आ–आफ्नो खेलमा दुई मिलानले जित समेत निकाले । एसी मिलानले बोलोग्नामाथि २–१ को जित निकाल्यो भने इन्टर मिलानले बेनेभेन्टोमाथि ४–० ले नतिजा आफ्नो पक्षमा पार्यो ।

यो जितपछि २० खेलबाट ४६ अंकका साथ एसी मिलान शिर्ष स्थानमा यथावत छ । त्यस्तै ४४ अंक जोडेको इन्टर दोस्रो स्थानमा छ । यी दुई टोलीलाई ३९ अंकका साथ तेस्रो स्थानमा रहेको साविक विजेता युभेन्टसले पछयाईरहेको छ ।

ज्लाटनको पेनाल्टी सेभ

शनिबार एसी मिलानले बोलोग्नालाई हराएको खेलमा स्वीडीस स्टार ज्लाटन इब्राहिमोभिचको पेनाल्टी विपक्षी गोलरक्षकले जोगाएका थिए । खेलमा मिलानका लागि आन्टे रेबिकले २६ तथा फ्रान्क केसीले ५५औं मिनटमा पेनाल्टीबाट गोल गरेका थिए । उता बोलोग्नाका लागि ८१औं मिनटमा आन्द्रे पोलीले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।

इन्टरका लागि लुकाकुको दुई गोल

त्यस्तै शनिबार नै इन्टरले बेनेभेन्टोलाई ४–० ले हराएको खेलमा बेल्जियन स्टार रोमेलु लुकाकुले दुई गोल गरे । लुकाकुले खेलको ६७ र ७८औं मिनटमा गोल गरेका थिए । यद्यपि खेलमा इन्टरले विपक्षी खेलाडीको आत्मघाती गोलबाट अग्रता बनाएको थियो ।

खेलको सातौं मिनटमै बेनेभेन्टोका रिकार्डो इम्प्रोटाले आत्मघाती गोल गर्न पुग्दा इन्टरले खेलमा शुरुवाती अग्रता बनाएको थियो । इन्टरको जितमा थप एक गोल भने अर्जेन्टिनी फरवार्ड लौतारो मार्टिनेजले ५७औं मिनटमा गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...