दश खेलाडीमा सिमित रियलको हार (भिडियोसहित)

एजेन्सी । खेलको शुरुवातबाटै दश खेलाडीमा सिमित हुन पुगेको रियल मेड्रिडले स्पेनिस ला लिगातर्फ शनिबार तुलनात्मक रुपमा कमजोर आँकिएको लेभान्टेसँग घरेलु मैदान मै २–१ को हार बेहोरेको छ ।

खेलको नवौं मिनटमै इडेर मिलिटाओले सोझै रातो कार्ड खाँदै मैदान बाहिरिएपछि रियल शुरुवातबाटै दश खेलाडीमा सिमित हुन पुगेको थियो । यद्यपि रातो कार्ड खाएको चार मिनट लगतै मार्को एसेन्सियोले रियललाई खेलमा अग्रता दिलाएका थिए ।

तर घरेलु टोलीले त्यो अग्रता धेरैबेर जोगाउन सकेन । उता जोसे लुइस मोरालेसले ३२औं मिनटमा लेभान्टेका लागि बराबरी गोल फर्काए । त्यस्तै खेलको ७८औं मिनटमा रोजर मार्टीले लेभान्टेका लागि निर्णायक गोल गर्दा रियल निराश बनेको थियो ।

यो हारसँगै रियल लिगलिडर एटलेटिको मेड्रिड भन्दा सात अंकले पछि परेको छ । रियलको २० खेलबाट ४० अंक छ र लिगतालिकाको दोस्रो स्थानमा छ । एटलेटिकोले भने दुई खेल कम खेलेको छ र ४७ अंकका साथ शिर्ष स्थानमा यथावत छ । उता महत्वपूर्ण जित हात पारेको लेभान्टे भने २६ अंकका साथ नवौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...