मैदानमा फर्किए मेसी (भिडियोसहित)

एजेन्सी । निलम्बन पछि मैदान फर्किएका अर्जेन्टिनी स्टार लियोनल मेसीले बार्सिलोनालाई प्रतिष्ठित कोपा डेल रे को क्वाटरफाइनलमा समेत पुर्याएका छन् । बुधबार राती भएको खेलमा बार्सिलोनाले रायो भेलकानोलाई २–१ ले हराएको खेलमा मेसीले पनि गोल गरे ।

स्पेनिस फुटबलमा दोस्रो डिभिजनको टोली समेत रहेको रायोले खेलको ६३औं मिनटमा गार्सिया टोरेसको गोलबाट सनसनीपूर्ण अग्रता बनाएको थियो । यद्यपि बार्सिलोनाले खेलमा उत्कृष्ट पूनःरागमन गर्यो । ६९औं मिनटमा बार्सिलोनाका लागि मेसीले बराबरी गोल फर्काए ।

त्यस्तै ८०औं मिनटमा फ्रेन्की डि जोंगले बार्साका लागि दोस्रो गोल गरे जुन खेलको निर्णायक गोल पनि बन्यो । त्यो गोलका लागि जोर्डी अल्वाले पास मिलाइदिएका थिए ।

त्यस्तै बुधबार नै भएको अन्य खेलहरुमा सेभियाले भ्यालेन्सियालाई ३–० ले हरायो भने अल्मेरियाले ओसासुनालाई पेनाल्टी शुटआउटमा ५–४ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो ।

निलम्बन पछि फर्किएका मेसी

स्मरण रहोस, बार्सिलोनाका कप्तान समेत रहेका लियोनल मेसीले स्पेनिस सुपर कपको फाइनलतर्फ एथलेटिक क्लबका खेलाडीलाई हात हालेपछि उनले रातो कार्ड पाएका थिए ।

मेसीका लागि क्लब करियर कै त्यो पहिलो रातो कार्ड समेत थियो । त्यो कार्डसँगै उनलाई ठूलो प्रतिवन्ध लाग्ने सम्भावना पनि थियो । तर स्पेनिस एफएले उनलाई केवल दुई खेलको निलम्बन मात्र गरे ।

जुन निलम्बन फुकुवा भएपछि उनी बुधबार रातीको खेलमा मैदानमा फर्किएका थिए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...