एजेन्सी । गत संस्करणको उपविजेता समेत रहेको इटालियन च्याम्पियन युभेन्टसले कोपा इटालियाको सेमिफाइनलमा अर्को दावेदार इन्टर मिलानसँग खेल्ने तय भएको छ ।
बुधबार राती भएको क्वाटरफाइनल भिडन्ततर्फ युभेन्टसले स्पाल माथि ४–० को सहज जित निकाल्दै इन्टरसँगको रोमाञ्चक सेमिफाइनल भेट पक्का गरेको हो । आफ्ना स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डो बिना उत्रिएको युभेन्टसका लागि १६औं मिनटमा अल्वारो मोराटाले पहिलो गोल गरेका थिए ।
अधिकांश दोस्रो रोजाईको खेलाडीलाई मौका दिएको युभेन्टसका लागि ३३औं मिनटमा जियानलुका फ्रेबोटाले दोस्रो गोल गरे । त्यस्तै थप दुई गोल भने दोस्रो हाफमा भयो । ७८औं मिनटमा डेजन कुलुसेवस्कीले युभेन्टसका लागि तेस्रो गोल गरे भने अन्तिमतिर इन्जुरी समयमा फेडरिको चिसाले चौथो गोल गर्दै ओल्ड लेडीको शानदार जित सुनिश्चित गरे ।
सेमिफाइनलमा दुई लेग हुने
कोपा इटालियाको सेमिफाइनल भिडन्त दुई लेगमा हुने छन् । पहिलो लेगतर्फ ३ फेब्रुअरीका दिन युभेन्टसले इन्टरसँग मिलानमा खेल्नेछ भने दोस्रो लेगतर्फ १० फेब्रुअरीका दिन युभेन्टसले घरेलु मैदानमा इन्टरको आतिथ्यता गर्नेछ ।