एकतर्फी जितका साथ सिटी शिर्ष स्थानमा उक्लियो

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ मंगलबार राती एकतर्फी जित निकालेको म्यानचेष्टर सिटी लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । मंगलबार वेस्ट ब्रोमलाई उसकै घरमा ५–० ले हराएको सिटीले शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेडलाई लिगतालिकामा पछि पार्दै शिर्ष स्थानमा कब्जा जमाएको हो ।

सिटीले खेलको छैटौं मिनटमै इल्काय गुन्डोगनको गोलबाट शुरुवाती अग्रता लिएको थियो । २०औं मिनटमा जोआओ क्यान्सिलोले त्यो अग्रता दोब्बर पारे । त्यसको दश मिनट लगतै गुन्डोगनले नै व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ३–० को स्थितिमा पुर्याए ।

पहिलो हाफ कै इन्जुरी समयमा रियाद महरेजले सिटीका लागि चौथो गोल गर्दा पाहुना टोलीले आफ्नो जित लगभग सुनिश्चित गरिसकेको थियो । पाँचौं गोल भने रहिम स्टर्लिङको नाममा रह्यो । उनले ५७औं मिनटमा अन्तिम गोल गर्दै सिटीको ५–० को फराकिलो जित पक्का गरे ।

यो जितसँगै १९ खेलबाट ४१ अंक जोडेको सिटी शिर्ष स्थानमा उक्लिन सफल भयो । ४० अंक जोडेको सिटीको शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेड दोस्रो स्थानमा छ । उता पराजित वेस्ट ब्रोम भने ११ अंकका साथ रेलिगेशन क्षेत्रको १९औं स्थानमा संघर्षरत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...