दमदार बनेको मिलान डर्बीमा इन्टरलाई सफलता (भिडियोसहित)

एजेन्सी । निकै रोमाञ्चक बनेको कोपा इटालियाको पहिलो क्वाटरफाइनलतर्फ मिलान डर्बीका रुपमा आइतबार कठिन जितका साथ इन्टर मिलान सेमिफाइनलमा प्रवेश गरेको छ ।

सान सिरोमा सम्पन्न खेलमा इन्टरले शहरी प्रतिद्वन्द्वी एसी मिलानलाई २–१ ले हराउँदै प्रतिष्ठित कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गर्यो । इन्टरको जितमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका क्रिष्टियन इरिक्सन निर्णायक रहे ।

खेलमा शुरुवाती अग्रता मिलानले लिएको थियो । ३१औं मिनटमा ज्लाटन इब्राहिमोभिचले गोल गर्दा मिलान खेलमा १–० ले अगाडी पर्न सफल भएको थियो । तर दोस्रो हाफमा ज्लाटनले नै रातो कार्ड खाँदै बाहिरिएपछि मिलान दबाबमा परेको थियो भने इन्टरलाई खेलमा फर्किने अवसर जुरेको थियो ।

विपक्षी खेलाडीलाई फल गरेपछि ज्लाटनले ५८औं मिनटमा रातो कार्ड खान पुगेका थिए । जुन इन्टरका लागि टर्निङ प्वाइन्ट बन्यो । ७१औं मिनटमा रोमेलु लुकाकुले पेनाल्टीबाट इन्टरका लागि बराबरी गोल फर्काए भने ९७औं मिनटमा वैकल्पिक खेलाडी क्रिष्टियन इरिक्सनले निर्णायक गोल गर्दै इन्टरलाई सेमिफाइनलमा पुर्याए ।

इन्टरले सेमिफाइनलमा युभेन्टस र स्पालबीच हुने क्वाटरफाइनल खेलको विजेतासँग खेल्नेछ । तेस्रो क्वाटरफाइनलका रुपमा युभेन्टस र स्पाल बुधबार राती टुरिनमा आमने सामने हुँदैछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...