बायर्नको सहज जित र शिर्षता कायमै (भिडियोसहित)

एजेन्सी । बुण्डेसलिगामा यस सिजन पनि शानदार लयमा रहेको डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले आइतबार सहज जित हात पार्दै लिगतालिकामा आफ्नो शिर्षतालाई पनि कायम राखेको छ ।

सहज जित निकाल्ने क्रममा यस सिजन लिगमा संघर्षरत साल्के माथि ४–० को एकतर्फी जित हात पार्यो । बायर्नको जितमा जर्मन स्टार थोमस मुलरले दुई गोल गरे । मुलरले ३३औं मिनटमा बायर्नका लागि गोलको खाता खोलेका थिए ।

साल्केको घरेलु मैदानमा भएको खेलमा थप तीन गोल भने बायर्नले दोस्रो हाफमा गर्यो । ५४औं मिनटमा रोबर्ट लेवान्डोस्कीले दोस्रो गोल गरे । लिगमा लेवान्डोस्कीको यो लगातार आठौं गोल थियो । त्यस्तै थप दुई गोल खेलको अन्तिमतिर दुई मिनटको अन्तराल मै भएको थियो ।

८८औं मिनटमा मुलरले व्यक्तिगत दोस्रो तथा पाहुना टोलीका लागि तेस्रो गोल गरे भने त्यसको दुई मिनट लगतै डेविड अलाबाले चौथो गोल गर्दै बायर्नको एकतर्फी जित सुनिश्चित गरे ।

यो जितसँगै १८ खेलबाट ४२ अंक जोडेको बायर्न शिर्ष स्थानमा यथावत छ र दोस्रो स्थानको आरबी लिपजिग भन्दा सात अंकले अगाडी छ । उता पराजित साल्के भने ७ अंकका साथ पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...