म्यानचेष्टर युनाइटेडद्वारा लिभरपुल ‘नकआउट’ (भिडियोसहित)

एजेन्सी । प्रतिष्ठित इङलिस एफए कपको चौथो चरणको खेलतर्फ दुई परस्पर प्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेड र लिभरपुलबीचको खेलमा म्यानचेष्टर युनाइटेडले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ ।

आइतबार ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा लिभरपुलले १६औं मिनटमा मोहमद सलाहको गोलबाट खेलमा अग्रता लिएको थियो । तर २६औं मिनटमा मेसन ग्रीनवुडले रेड डेविल्सका लागि बराबरी गोल फर्काउन सफल भएका थिए ।

पहिलो हाफ १–१ को बराबरीमा सकिए तापनि दोस्रो हाफ भने थप प्रतिस्पर्धात्मक बन्न पुगेको थियो । मध्यान्तर लगतै तेस्रो मिनटमा मार्कस रेशफोर्डले म्यानचेष्टरका लागि दोस्रो गोल गरे ।

तर रेड डेविल्सले पनि त्यो अग्रता धेरैबेर जोगाउन सकेन । उता ५८औं मिनटमा सलाहले नै लिभरपुलका लागि दोस्रो गोल गर्दै खेललाई २–२ को रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

म्यानचेष्टरको जितमा वैकल्पिक खेलाडी ब्रुनो फर्नान्डेस निर्णायक रहे । भान डेर बिकको स्थानमा मैदान प्रवेश गरेका फर्नान्डेसले ७८औं मिनटमा फ्रिकिकबाट निर्णायक गोल गर्दै रेड डेविल्सलाई सनसनीपूर्ण जित दिलाए ।

म्यानचेष्टर युनाइटेडले अब पाँचौं चरणको खेलमा अर्को प्रिमियर लिग क्लब वेस्ट ह्याम युनाइटेडलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...