चेल्सीका लागि अब्राहमको ह्याट्रिक

एजेन्सी । इङलिस प्रिमियर लिगमा केही पछिल्लो समय खराब लयमा रहेको चेल्सीले प्रतिष्ठित इमिरेटस एफए कपतर्फ भने आइतबार राती प्रभावशाली जित निकालेको छ । लुटोन टाउनलाई ३–१ ले हराएको खेलमा इङलिस स्ट्राइकर टेमी अब्राहम एक्लैले ह्याट्रिक गरे ।

घरेलु मैदानमा भएको खेलको ११औं मिनटमै अब्राहमले पहिलो गोल गरेका थिए । लगतै १७औं मिनटमा अब्राहमले त्यो अग्रता दोब्बर पारे । उता लुटोनका लागि ३०औं मिनटमा जोर्डन क्लार्कले एक गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे तापनि सफल भएनन् ।

चेल्सीले एकतर्फी जित दर्ता गर्ने क्रममा ७४औं मिनटमा अब्राहमले नै तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । यो जितसँगै म्यानेजर फ्रान्क लाम्पार्डमाथिको दबाब पनि केही कम भएको छ ।

खेलमा चेल्सीलाई चार गोल गर्ने अवसर पनि थियो । तर अन्तिमतिर पाएको पेनाल्टीलाई टिमो वेर्नरले गोलमा परिणत गर्न सकेनन् । उनको प्रहार लुटोनका गोलरक्षक सिमोन स्लुगाले विफल तुल्याइदिएका थिए । चेल्सीले एफए कपको पाँचौं चरणमा च्याम्पियनसिप क्लब बार्नस्लीसँग खेल्नेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...