रियलको सहज जितमा बेन्जेमाको दुई गोल

एजेन्सी । बुधबार मात्र कोपा डेल रेमा तेस्रो डिभिजनको टोली अल्कोयानोसँग स्तब्धपुर्ण हार बेहोरेको रियल मेड्रिडले स्पेनिस ला लिगातर्फ शनिबार भने जितको लय समाएको छ ।

फ्रेन्च स्टार करिम बेन्जेमाले दुई गोल गरेपछि रियलले अलावेस विरुद्ध उसकै घरमा ४–१ को प्रभावशाली जित निकाल्यो । रियलका लागि गोलको खाता भने ब्राजिलियन मिडफिल्डर केसेमिरोले १५औं मिनटमा खोलेका थिए ।

४१औं मिनटमा करिम बेन्जेमाले रियलको त्यो अग्रता दोब्बर पारे । पहिलो हाफ कै इन्जुरी समयमा इडन हजार्डले रियलको अग्रता तेब्बर पारे । स्मरणीय छ, अक्टुबर यता रियलका लागि हजार्डको त्यो पहिलो गोल समेत थियो ।

उता मध्यान्तरपछि ५९औं मिनटमा जोसेलुले अलावेसका लागि एक गोल फर्काउँदै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे तर सफल भएनन् । रियलका लागि ७०औं मिनटमा बेन्जेमाले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पाहुना टोलीको सहज जित सुनिश्चित गरे ।

यो जितपछि रियल १९ खेलबाट ४० अंकका साथ दोस्रो स्थानमा छ । दुई खेल कम खेलेको रियलको शहरी प्रतिद्वन्द्वी एटलेटिको मेड्रिड भने ४४ अंकका साथ शिर्ष स्थानमा यथावत छ । उता पराजित अलावेस २० खेल खेल्दै १८ अंकका साथ रेलिगेशन क्षेत्रभन्दा एक स्थान माथि १७औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...