पिएसजीको शानदार जितमा तीन स्टार्सको गोल

एजेन्सी । क्लबका तीन स्टार्स काइलन एम्बाप्पे, नेमार र माउरो इकार्डीले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानतर्फ शुक्रबार राती मोन्टपिलर विरुद्ध ४–० को प्रभावशाली जित हात पारेको छ ।

खेलको शुरुवात मै दश खेलाडीमा सिमित हुन पुगेको मोन्टपिलर त्यसपश्चात् खेलअवधि भर निरीह बन्यो । मोन्टपिलरका गोलरक्षक जोनास ओम्लिनले १९औं मिनटमा सोझै रातो कार्ड खाँदै मैदान बाहिरिएपछि पाहुना टोली शुरुवातबाटै दश खेलाडीमा सिमित हुन पुगेको थियो ।

पिएसजीका लागि ३४औं मिनटमा एम्बाप्पेले पहिलो गोलको खाता खोलेका थिए । पिएसजीले थप तीन गोल भने दोस्रो हाफतर्फ नाटकीय रुपमा पाँच मिनट भित्र गर्न सफल भएको थियो । ६०औं मिनटमा नेमारले दोस्रो गोल गर्दा त्यसको एक मिनट लगतै माउरो इकार्डीले तेस्रो गोल गरे । त्यस्तै ६३औं मिनटमा एम्बाप्पेले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै घरेलु टोलीको शानदार जित सुनिश्चित गरे ।

यो जितसँगै २१ खेलबाट ४५ अंक जोडेको पिएसजी लिगतालिकाको शिर्ष स्थानमा छ । एक खेल कम खेलेको लिले ४२ अंकका साथ दोस्रो स्थानमा छ । उता पिएसजीसँग पराजित हुन पुगेको मोन्टपिलर भने २८ अंकका साथ ११औं स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...