एजेन्सी । इङलिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन लिभरपुलको ६८ खेलको अपराजित यात्रा तुलनात्मक रुपमा कमजोर आँकिएको बर्नली फुटबल क्लबले तोडेको छ ।
बिहीबार राती लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा रेडसले बर्नलीसँग ०–१ को स्तब्धपुर्ण हार बेहोर्न पुग्यो । खेल सकिन सात मिनट मात्र बाँकी रहेको अवस्थामा बर्नलीले पेनाल्टीको अवसर पाएको थियो ।
रेडसका गोलरक्षक एलिसनले एश्ली बार्नेसलाई बक्स भित्रै फल गरेपछि पाहुना टोलीले पेनाल्टीको अवसर पाएको थियो । जसलाई ८३औं मिनटमा बार्नेसले नै गोलमा परिणत गरेका थिए । त्यो पेनाल्टी गोल नै निर्णायक पनि बन्यो ।
यो हारसँगै लिभरपुलको उपाधि जोगाउने अभियानमा पनि केही धक्का लागेको छ । १९ खेलबाट ३४ अंक जोडेको लिभरपुल चौथो स्थानमा छ र लिगलिडर म्यानचेष्टर युनाइटेड भन्दा ६ अंकले पछाडी छ । उता बर्नली भने १८ खेलबाट १९ अंकका साथ १६औं स्थानमा उक्लिन सफल भएको छ ।