चेल्सीलाई हराउँदै लेस्टर शिर्ष स्थानमा (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ मंगलबार राती पछिल्लो समय खराब लयमा देखिएको चेल्सीलाई २–० ले हराउँदै लेस्टर सिटी लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान किंग पावर स्टेडियममा राम्रो प्रदर्शन गरेको लेस्टरले दुवै गोल पहिलो हाफ मै गरेको थियो । खेल शुरु भएको छैटौं मिनटमै विलफ्रेड एन्डिडीले लेस्टरका लागि पहिलो गोल गरेका थिए । ४१औं मिनटमा जेम्स मेडिसनले दोस्रो गोल गर्दा लेस्टर थप उत्साहित बनेको थियो । जुन गोल खेलको अन्तिम र निर्णायक नतिजा पनि बनेको थियो ।

खेलमा विरलै आक्रमणको जालो बुनेको चेल्सी भने लेस्टर सामू तुलनात्मक रुपमा कमजोर देखियो । यो जितसँगै लेस्टरले म्यानचेष्टर युनाइटेडलाई पछि धकेल्दै १९ खेलबाट ३८ अंकका साथ लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

यद्यपि म्यानचेष्टरले एक खेल कम खेलेको छ र रेड डेविल्सको ३७ अंक छ । उता लेस्टरसँग पराजित हुन पुगेको चेल्सी भने २९ अंकका साथ आठौं स्थानमा झरेको छ ।

मेरो भविष्य नियन्त्रण बाहिरः लाम्पार्ड

चेल्सीको यो हारसँगै म्यानेजर फ्रान्क लाम्पार्डमाथि थप दबाब थपिएको छ । साथै उनको प्रशिक्षकीय जिम्मेवारी पनि धरापमा पर्ने सम्भावना बढेर गएको छ । यो कुरालाई स्वयं लाम्पार्डले पनि स्वीकारेका छन् ।

यसअघि उनले आफूलाई बर्खास्त गर्ने नगर्ने सबै चेल्सी कै हातमा रहेको बताएका थिए । तर मंगलबारको हारसँगै उनी निराश देखिए । लाम्पार्डले मंगलबारको हारपछि क्लबमा आफ्नो भविष्य नियन्त्रण बाहिर पुगेको प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...