प्रतिवन्धमा मेसी, बार्साले अपिल गर्ने

एजेन्सी । बार्सिलोनामा क्लब करियर कै पहिलो रातो कार्ड खाएका अर्जेन्टिनी सुपर स्टार लियोनल मेसीलाई दुई खेलको प्रतिवन्ध लागेको छ । यो निर्णयसँगै मेसी लामो प्रतिवन्ध बेहोर्ने सम्भावनाबाट भने जोगिएका छन् ।

स्मरण रहोस, आइतबार स्पेनिस सुपर कपतर्फको फाइनलमा एथलेटिक बिल्बाओका असिर मोलिनालाई खेलकै क्रममा हिर्काएपछि भिडियो एसिस्टेन्ट रेफ्री (भार) को निरिक्षणपश्चात् मेसीलाई रेफ्रीले रातो कार्ड देखाएका थिए ।

त्यो खेलमा बार्सिलोनाले दुईपल्टको अग्रता लिएर पनि बिल्बाओलाई ३–२ ले नतिजा सुम्पिएको थियो । साथै त्यो खेल रोमाञ्चक रुपमा अतिरिक्त समयसम्म पनि धकेलिएको थियो ।

रिपोर्टअनुसार ३३ बर्षिय मेसीले १२ खेलसम्मको प्रतिवन्ध बेहोर्ने सम्भावना थियो । यद्यपि स्पेनिस फुटबल फेडरेशनले उनलाई दुई खेलको मात्र प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।

तर मेसीको यो प्रतिवन्धको निर्णय पनि बार्सिलोनालाई भने चित्त बुझेको छैन । गोल डटकमका अनुसार बार्सिलोनाले आफ्नो स्टार खेलाडी विरुद्धको यो प्रतिवन्धलाई लिएर अपिल गर्ने पनि बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...