स्टोन्सको दुई गोलसँगै सिटीको सहज जित

एजेन्सी । डिफेन्डर जोन स्टोन्सले दुई गोल गरेको खेलमा इङलिस प्रिमियर लिगतर्फ आइतबार म्यानचेष्टर सिटीले क्रिस्टल प्यालेसलाई ४–० ले हराएको छ । इतिहाद स्टेडियममा खेलको २६औं मिनटमा स्टोन्सले पहिलो गोलको खाता खोले । त्यसपछिका बाँकी तीन गोलहरु भने दोस्रो हाफमा भए ।

५८औं मिनटमा इल्काय गुन्डोगनले सिटीका लागि दोस्रो गोल गरे भने त्यसको दश मिनट पछि स्टोन्सले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । त्यस्तै खेलको अन्तिमतिर ८८औं मिनटमा रहिम स्टर्लिङले सिटीका लागि चौथो गोल गर्दै घरेलु टोलीको सहज जित सुनिश्चित गरे ।

यो जितसँगै सिटी १७ खेलबाट ३५ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । साथै लिगलिडर तथा शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेड भन्दा २ अंकले मात्र पछाडी छ । स्मरण रहोस, युनाइटेडले आइतबार नै साविक विजेता लिभरपुलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।

उता सिटीसँग पराजित भएको प्यालेस भने १९ खेलबाट २३ अंकका साथ लिगतालिकाको १३औं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...