सुपर कपको फाइनलमा हार्यो बार्सा, मेसीलाई रातो कार्ड

एजेन्सी । स्पेनिस सुपर कपको उपाधि नजिक पुगेर पनि क्याटलन जायन्ट बार्सिलोनाले आइतबार राती नमिठो हार बेहोरेको छ । सेभिलेमा भएको फाइनल भिडन्तमा बार्साले खेलमा दुईपल्ट लिएको अग्रता जोगाउन सकेन र अन्ततः ३–२ ले नतिजा एथलेटिक बिल्बाओलाई सुम्पिन बाध्य भयो ।

खेलको ४०औं मिनटमा एन्टोइन ग्रीजम्यानको गोलबाट बार्साले खेलमा अग्रता लिएको थियो । तर त्यसको दुई मिनट लगतै एथलेटिकका लागि ओस्कार डि मार्कोसले बराबरी गोल फर्काएका थिए । पहिलो हाफसम्म १–१ गोल कै बराबरीमा खेल सकिएको थियो ।

दोस्रो हाफको ७७औं मिनटमा फेरि ग्रीजम्यानले नै बार्सालाई खेलमा अग्रता दिलाए । तर बार्साले त्यो अग्रता पनि जोगाउन सकेन । खेलको अन्तिमतिर नाटकीय रुपमा एथलेटिकले पूनःरागन गर्यो । ९०औं मिनटमा असिर मोलिनाले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

त्यसको तीन मिनट लगतै इनाकी विलियम्सले निर्णायक गोल गर्दै बिल्बाओलाई ऐतिहासिक जित दिलाए । स्मरण रहोस, सन् १९८५ पछि बिल्बाओले जितेको यो दोस्रो ट्रफी समेत हो ।

मेसीलाई करियर कै पहिलो रातो कार्ड

खेलमा बार्सिलोनाका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले क्लब करियर कै पहिलो रातो कार्ड खाए । क्लबका लागि ७५३औं मिनटमा म्याच खेलिरहेका मेसीले बिल्बाओका गोलकर्ता असिर मोलिनालाई खेलकै क्रममा फल गरेका थिए ।

यद्यपि उनको त्यो फल रेफ्रीले शुरुमा नदेखे तापनि भिडियो एसिस्टेन्ट रेफ्री (भार) को सहयोगमा मेसीलाई दोषी देखाउँदै रातो कार्ड देखाइएको थियो । क्लबका लागि पहिलो र समग्रमा मेसीको यो तेस्रो रातो कार्ड थियो ।

मेसीले यसअघि अर्जेन्टिनाका लागि खेल्दा सन् २००५ मा हंगेरी विरुद्धको डेब्यु खेलमा तथा सन् २०१९ को कोपा अमेरिकामा चिली विरुद्ध खेल्दा रातो कार्ड खाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...