एजेन्सी । डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले बुण्डेसलिगामा आइतबार उत्कृष्ट जित निकाल्दा होल्डर बायर्नका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले पनि एक किर्तिमान आफ्नो नाममा लेखाए ।
एससी फ्रेबर्गलाई २–१ ले हराएको खेलमा लेवान्डोस्कीले खेलको सातौं मिनटमै गोलको खाता खोलेका थिए । त्यो गोलसँगै बुण्डेसलिगाको इतिहास मै शुरुवाती १६ खेलहरुमा २१ गोल गर्ने उनी पहिलो खेलाडी समेत बने ।
यद्यपि दोस्रो हाफतर्फ ६२औं मिनटमा निल्स पेटरसनले फ्रेबर्गका लागि बराबरी गोल गर्न सफल भएका थिए । तर पनि बायर्नले जितलाई आत्मसात गर्न सफल भयो । थोमस मुलरले ७४औं मिनटमा दोस्रो गोल गरेपछि बायर्नको जित पक्का बनेको थियो ।
यो जितसँगै १६ खेलबाट ३६ अंकका साथ बायर्न लिगतालिकाको शिर्ष स्थानमा यथावत छ । उता पराजित फ्रेबर्ग भने २३ अंकका साथ नवौं स्थानमा झरेको छ ।