पिएसजीमा पोचेटिनोलाई उपाधि (भिडियोसहित)

एजेन्सी । यसै महिनाको शुरुवाततिर पेरिस सेन्ट जर्मेन (पिएसजी) को नयाँ म्यानेजरमा नियुक्त भएका अर्जेन्टिनी प्रशिक्षक मौरिसियो पोचेटिनोले बुधबार राती क्लबका लागि पहिलो ट्रफी जितेका छन् ।

पिएसजीको जिम्मेवारी सम्हालेको तेस्रो खेलमै पोचेटिनोले बुधबार राती ट्रफी डेस च्याम्पियन्स (फ्रेन्च सुपर कप) को उपाधि जित्न सफल भए । खेलमा पिएसजीले मार्सेलीलाई २–१ ले हराउँदै लगातार आठौंपटक यो उपाधिमाथि कब्जा जमाउन सफल भयो ।

यो ट्रफी समग्रमा पिएसजीका लागि दशौं ट्रफी समेत हो । साथै पिएसजी प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो । पिएसजीले फ्रेन्च फुटबलमा निरन्तर आफ्नो दबदबा कायम राखेको छ । फ्रेन्च च्याम्पियनले आफूले खेलेको पछिल्ला २० मध्ये १९ उपाधिमाथि कब्जा जमाइसकेको छ ।

लेन्समा सम्पन्न उपाधि भिडन्तमा पिएसजीका लागि माउरो इकार्डीले ३९औं पहिलो गोल गरे । त्यस्तै चोटपछि मैदान फर्किएका ब्राजिलियन स्टार नेमारले ८५औं मिनटमा पेनाल्टीबाट दोस्रो गोल गरेका थिए । उता मार्सेलीका लागि ८९ओं मिनटमा दिमीत्री पायटले सान्त्वना गोल फर्काए ।

स्मरण रहोस, यो ट्रफी डेस च्याम्पियन्स इङल्याण्डमा हुने एफए कम्युनिटी शिल्ड कै फ्रेन्च रुपान्तरण समेत हो । जहाँ फ्रेन्च लिग वान विजेता र फ्रेन्च लिग कपको विजेता यो ट्रफीका लागि प्रतिस्पर्धा गर्ने गर्छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...