रोनाल्डोको गोलसँगै युभेन्टसको शिर्ष स्थानको दावेदारीता यथावत

एजेन्सी । इटालियन सिरि ए तर्फ डिफेन्डिङ च्याम्पियन युभेन्टसले आइतबार राती प्रभावशाली जितका साथ लिगतालिकामा आफ्नो दावेदारीतालाई पनि यथावत राखेको छ ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसले दश खेलाडीमा सिमित ससुओलोलाई ३–१ ले हराउँदै शिर्षताको दावेदारीता यथावत राख्यो । खेलमा दुवैतर्फबाट भएका समग्रमा चार गोल दोस्रो हाफमा सम्पन्न भए ।

तर पहिलो हाफ कै इन्जुरी समयमा पेड्रो ओबियाङले सोझै रातो कार्ड खाएर मैदान बाहिरिंदा ससुओलो दोस्रो हाफमा दश खेलाडीमा सिमित भएको थियो । ओबियाङले युभेन्टसका फेडरिको चिसालाई डरलाग्दो फल गरेपछि रेफ्रीले उनलाई सोझै रातो कार्ड देखाएका थिए ।

उता खेलको ५०औं मिनटमा डानिलोको गोलबाट युभेन्टसले खेलमा अग्रता बनाएको थियो । तर त्यसको आठ मिनट लगतै ग्रिगोरी ड्रिफेलले ससुओलोका लागि बराबरी गोल फर्काउन सफल भएका थिए । त्यसपश्चात्को खेल बराबरीतर्फ नै लम्किरहेको थियो ।

तर खेलको ८२औं मिनटमा एरोन राम्सेले युभेन्टसका लागि दोस्रो गोल गरे भने इन्जुरी समयको ९०+२औं मिनटमा क्रिष्टियानो रोनाल्डोले तेस्रो गोल गर्दै लिगमा युभेन्टसको लगातार तेस्रो जित सुनिश्चित गरे ।

यो जितसँगै युभेन्टस १६ खेलबाट ३३ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । यद्यपि लिगलिडर एसी मिलान भन्दा अझै ६ अंकले पछाडी छ । मिलानले एक खेल बढी खेलेको छ । उता युभेन्टससँग पराजित ससुओलो भने १७ खेलबाट २९ अंकका साथ सातौं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...