लण्डनमा चेल्सीको सहज जित (भिडियोसहित)

एजेन्सी । गत सिजनको उपविजेता समेत रहेको चेल्सीले प्रतिष्ठित इङलिस एफए कपको तेस्रो चरणमा सहज जित निकाल्दै चौथो चरणमा प्रवेश गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रीजमा भएको खेलमा चेल्सीले लिग टुको टोली मोरक्याम्बी विरुद्ध ४–० को एकतर्फी जित निकाल्यो ।

खेलको १८औं मिनटमा मेसन माउण्टले चेल्सीका लागि पहिलो गोल गरे । २५ यार्ड टाढाबाट गरेको उनको सशक्त प्रहार गोलमा परिणत भएको थियो । ४४औं मिनटमा टिमो वेर्नरले चेल्सीका लागि दोस्रो गोल गरे । त्यो गोल ७ नोभेम्बर यता चेल्सीका लागि गरेको वेर्नरको पहिलो गोल समेत थियो ।

चेल्सीले दोस्रो हाफमा थप दुई गोल गर्यो । मध्यान्तर पछिको चौथो मिनट मै केलम हडसन–ओडोईले ब्लुजको अग्रता ३–० मा पुर्याए । त्यस्तै ८५औं मिनटमा काई हेभर्जले चेल्सीका लागि चौथो हेड गोल गर्दै घरेलु टोलीको शानदार जित पक्का गरे । उनले सिजर एजिपिलिक्वेटाको क्रस पासमा गोल गर्न सफल भएका थिए ।

चेल्सी विरुद्ध लगभग पूरै समय दबाबमा खेलेको मोरक्याम्बीले घरेलु टोली विरुद्ध विरलै अवसर पाएको थियो । पराजित टोलीले केही राम्रो अवसर पनि पाएको थियो । तर त्यसलाई सदुपयोग भने गर्न सकेन ।


प्रतिक्रिया दिनुहोस

Loading...