एजेन्सी । नयाँ म्यानेजर मौरिसियो पोचेटिनोले क्लबको जिम्मेवारी सम्हाले यता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा शनिबार राती पहिलो जित हात पारेको छ ।
पिएसजीको घरेलु मैदान पर्सि डेस प्रिन्सेसमा भएको खेलमा पोचेटिनोको टोलीले ब्रिस्ट माथि ३–० को प्रभावशाली जित दर्ता गर्यो । पिएसजीका लागि मोइसे किनले १६औं मिनटमा पहिलो गोल गरे । पिएसजीका लागि किनको यो लगातार तेस्रो गोल समेत थियो ।
पिएसजीले थप दुई गोल भने दोस्रो हाफको अन्तिमतिर दुई मिनटको अन्तरालमा गरेको थियो । ८१औं मिनटमा माउरो इकार्डीले घरेलु टोलीका लागि दोस्रो गोल गरे भने त्यसको दुई मिनट लगतै पाब्लो सराबियाले २० यार्ड टाढाबाट सुन्दर गोल गर्दै टोलीको प्रभावशाली जित पक्का गरे ।
यो जितसँगै पिएसजी १९ खेलबाट ३९ अंकका साथ लिगतालिकाको दोस्रो स्थानमा छ । र लिगलिडर लियोन भन्दा एक अंकले मात्र पछाडी छ । लियोन शनिबार नै रेनेससँग २–२ को बराबरीमा रोकिएको थियो । उता पिएसजीसँग पराजित ब्रिस्ट भने २६ अंकका साथ ११औं स्थानमा झरेको छ ।