मिलानको अपराजित यात्रामा युभेन्टस बाधक (भिडियोसहित)

एजेन्सी । यस सिजन इटालियन सिरि ए मा अपराजित रहेको एसी मिलानले बुधबार राती डिफेन्डिङ च्याम्पियन युभेन्टसको हातबाट घरमै ३–१ को हार बेहोरेको छ । यो हारसँगै मिलानको लिगमा अपराजित यात्रामा पनि पुर्णविराम लागेको छ ।

सान सिरोमा भएको खेलमा फेडरिको चिसाको गोलबाट युभेन्टसले खेलमा अग्रता लिएको थियो । तर ४१औं मिनटमा डेविडे कलब्राले मिलानका लागि बराबरी गोल फर्काउन सफल भए ।

दोस्रो हाफमा भने युभेन्टसले लय समाउन सफल भयो । ६२औं मिनटमा चिसाले नै व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई फेरि खेलमा अग्रता दिलाए । युभेन्टसको गोलको यात्रा त्यतिमा रोकिएन । ७६औं मिनटमा वेस्टन म्याककेनीले पाहुना टोलीका लागि तेस्रो गोल गर्दै मिलानलाई घरमै स्तब्ध तुल्याइदियो ।

यो हारका बावजुद १६ खेलबाट ३७ अंकका साथ मिलान शिर्ष स्थान मै छ । बुधबार नै दोस्रो स्थानको इन्टरले साम्पडोरियासँग २–१ को हार बेहोरेपछि मिलानलाई केही फाईदा पुगेको हो । इन्टरको ३६ अंक छ । उता एक खेल कम खेलेको युभेन्टस भने ३० अंकका साथ चौथो स्थानमा उक्लिएको छ ।

यस सिजन मिश्रित प्रदर्शन गरिरहेको युभेन्टस लगातार दशौंपटक लिग उपाधि जित्ने अभियानमा छ । नयाँ प्रशिक्षक आन्द्रे पिर्लोको नेतृत्वमा युभेन्टसले लिगमा फेरि लय समाउने प्रयासमा पनि छ ।


प्रतिक्रिया दिनुहोस

Loading...