मेसीको दुई गोलसँगै तेस्रो स्थानमा उक्लियो बार्सा (भिडियोसहित)

एजेन्सी । चोटपछि यसै साता मैदान फर्किएका अर्जेन्टिनी स्टार लियोनल मेसीले दुई गोल गर्दा स्पेनिस ला लिगातर्फ बुधबार राती बार्सिलोनाले एथलेटिक बिल्बाओलाई ३–२ ले हराउन सफल भएको छ ।

बिल्बाओको घरेलु मैदानमा भएको खेलको तेस्रो मिनटमै इनाकी विलियम्सको गोलबाट घरेलु टोलीले सनसनीपूर्ण रुपमा अग्रता लिएको थियो । तर १४औं मिनटमै पेड्री गोन्जालेजले बार्साका लागि बराबरी गोल गर्न सफल भएका थिए ।

खेलको ३६ र ६२औं मिनटमा मेसीले लगातार दुई गोल गर्दै बार्सिलोनालाई ३–१ को स्थितिमा पुर्याए । जुन दुई गोल बार्सिलोनालाई निश्चित जित दिलाउन प्रर्याप्त पनि बन्यो ।

उता खेलको अन्तिमतिर ९०औं मिनटमा बिल्बाओका लागि इकेर मुनियनले थप एक गोल फर्काए तापनि त्यतिबेलासम्म घरेलु टोलीको हार टार्न अबेर भईसकेको थियो ।

यो जितसँगै १७ खेलबाट ३१ अंक जोडेको बार्सिलोना लिगतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शिर्ष स्थानमा रहेको एटलेटिको मेड्रिड भन्दा सात अंकले पछाडी छ । यद्यपि एटलेटिकोले २ खेल कम खेलेको छ ।

त्यस्तै बार्साको चिरप्रतिद्वन्द्वी रियल मेड्रिड भने ३६ अंकका साथ दोस्रो स्थानमा छ । उता बार्सासँग पराजित हुन पुगेको बिल्बाओ भने १८ खेलबाट २१ अंकका साथ लिगतालिकाको नवौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...