उपाधि होडमा लिभरपुललाई धक्का (भिडियोसहित)

एजेन्सी । डिफेन्डिङ च्याम्प्यिन लिभरपुललाई इङलिस प्रिमियर लिगको उपाधि होडमा सोमबार राती धक्का लागेको छ । साउथाम्पटनसँग उसकै घरमा १–० ले स्तब्ध बन्न पुगेको लिभरपुलको उपाधि होडमा धक्का लागेको हो ।

सेन्ट मेरी’ज स्टेडियममा भएको खेलको दोस्रो मिनटमै डेनी इंग्सको गोलबाट साउथाम्पटनले खेलमा अग्रता बनाएको थियो । जुन अग्रता खेलको निर्णायक नतिजा पनि बन्न पुग्यो । लिगमा यस सिजन लिभरपुलको यो दोस्रो हार समेत हो ।

यो जितसँगै १७ खेलबाट २९ अंक जोडेको साउथाम्पटनले लिगतालिकाको छैटौं स्थानमा पुगेको छ । उता पराजित लिभरपुल भने ३३ अंकका साथ गोल भिन्नताका आधारमा शिर्ष स्थान मै यथावत छ ।

दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेडको पनि ३३ अंक छ । यद्यपि युनाइटेडले एक खेल कम खेलेको छ । ३२ अंक जोडेको लेस्टर तेस्रो, २९ अंक जोडेका टोटेनह्याम र म्यानचेष्टर सिटी क्रमश चौथो पाँचौं स्थानमा छन् । साथै यी पाँचै टोलीले आफ्नो आगामी खेलमा जित निकाले शिर्ष स्थानमा उक्लिने अवसर पनि छ ।


प्रतिक्रिया दिनुहोस

Loading...