सात गोलको रोमाञ्चमा बायर्नको सनसनी (भिडियोसहित)

एजेन्सी । जर्मन बुण्डेसलिगातर्फ डिफेन्डिङ च्याम्पियन बायर्नले आइतबार शुरुवाती दुई गोलले पछि परेको स्थिति उल्टाउँदै मेन्ज विरुद्ध ५–२ को शानदार जित दर्ता गरेको छ ।

बायर्नको घरेलु मैदानमा सम्पन्न खेलमा घरेलु टोलीले पहिलो हाफ मै दुई गोल खान पुगेको थियो । खेलको ३२औं मिनटमा जोनाथन बुरकार्टले मेन्जलाई खेलमा अग्रता दिलाए । ४४औं मिनटमा अलेक्जेन्डर ह्याकले दोस्रो गोल गरेपछि बायर्न पहिलो हाफ मै २–० ले पछि परेको थियो ।

तर दोस्रो हाफमा बायर्नले शानदार पूनरागमन गर्यो । ५०औं मिनटमा जोशुवा किमिचले बायर्नका लागि पहिलो गोल फर्काए । त्यसको पाँच मिनट लगतै लेराए सानेले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । तर बायर्न त्यतिमै रोकिनेवाला थिएन । ७०औं मिनटमा निक्लास सुलीले बायर्नका लागि तेस्रो गोल गरे ।

त्यसपछि यस सिजन पनि शानदार लयमा रहेको पोलिस स्टार रोबर्ट लेवान्डोस्कीले ७६औं मिनटमा पेनाल्टीबाट र ८३औं मिनटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै घरेलु टोलीको शानदार जित सुनिश्चित गरेका थिए ।

यो जितसँगै १४ खेलबाट ३३ अंक जोडेको बायर्न लिगतालिकाको शिर्ष स्थानमा समेत उक्लिएको छ । ३१ अंक जोडेको आरबी लिपजिग भने दोस्रो स्थानमा झरेको छ । उता बायर्नसँग पराजित हुन पुगेको मेन्ज भने ६ अंकका साथ रेलिगेशन क्षेत्रको १७औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...