एटलेटिकोको लागि सुआरेज निर्णायक (भिडियोसहित)

एजेन्सी । गत सेप्टेम्बरमा मात्र बार्सिलोनाबाट एटलेटिको मेड्रिडमा आवद्ध भएका लुईस सुआरेज निर्णायक बन्दा स्पेनिस ला लिगातर्फ एटलेटिकोले आइतबार महत्वपूर्ण जित निकाल्दै शिर्ष स्थानमा फर्किएको छ ।

खेलको ९०औं मिनटमा बक्स भित्रबाट गरेको सुआरेजको निर्णायक गोलले एटलेटिकोले आइतबार दश खेलाडीमा सिमित अलावेसलाई २–१ ले हरायो । खेलको ४१औं मिनटमा मार्को लोरेन्टेको गोलबाट एटलेटिकोले खेलमा अग्रता लिएको थियो ।

दोस्रो हाफतर्फ ६३औं मिनटमा भिक्टर लुगार्डियाले रातो कार्ड खाँदै मैदान छाडेपछि घरेलु टोली अलावेस दश खेलाडीमा सिमित हुन पुगेको थियो । यद्यपि ८४औं मिनटमा एटलेटिकोका फिलिपे आत्मघाती गोल गर्दा खेल १–१ को बराबरीमा आएको थियो ।

खेल बराबरीतर्फ नै लम्किरहेका बेला ९०औं मिनटमा सुआरेज निर्णायक बनेका थिए । यो जितसँगै १५ खेलबाट ३८ अंक जोडेको एटलेटिको फेरि शिर्ष स्थानमा उक्लिएको छ । दुई खेल बढी खेलेको एटलेटिकोको शहरी प्रतिद्वन्द्वी रियल मेड्रिड ३६ अंकका साथ दोस्रो स्थानमा छ ।

स्मरण रहोस, रियले शनिबार मात्र सेल्टा विगोलाई २–० ले हराउँदै केही समयका लागि लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको थियो । त्यसैगरी आइतबार एटलेटिकोसँग पराजित हुन पुगेको अलावेस भने १७ खेलबाट १८ अंकका साथ लिगतालिकाको १४औं स्थानमा झरेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...