एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ सिजनको शुरुवात राम्रो गरे तापनि पछिल्ला समय यता चेल्सीले लय गुमाउन पुगेको छ । लय गुमाएको चेल्सीले आइतबार राती घरेलु मैदान मै म्यानचेष्टर सिटीसँग ३–१ को हार बेहोर्यो ।
आफ्ना केही मुख्य खेलाडी बिना उत्रिएको सिटीले चेल्सी विरुद्ध पहिलो हाफ मै तीन गोल गर्न सफल भएको थियो । जुन गोलहरु पाहुना टोलीलाई लण्डनमा तीन अंक दिलाउन प्रर्याप्त बन्यो ।
१८औं मिनटमा इल्काय गुन्डोगनको गोलबाट सिटीले अग्रता बनाएको थियो । त्यसको तीन मिनट लगतै फिल फोडेनले दोस्रो गोल गरे भने ३४औं मिनटमा केभिन डि ब्रुईनले तेस्रो गोल गर्दै सिटीको जित सुनिश्चित गरे ।
उता चेल्सीका लागि इन्जुरी समयको ९०+२औं मिनटमा केलम हडसन ओडाईले एक मात्र सान्त्वना गोल फर्काए । त्यतिबेलासम्म अबेर भइसकेको थियो र रेफ्रीले खेल सम्पन्न भएको इशारा गर्ने तयारीमा थिए ।
यो जितसँगै सिटी १५ खेलबाट २९ अंकका साथ लिगतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । उता पराजित चेल्सी भने १७ खेलबाट २६ अंकका साथ आठौं स्थानमा झरेको छ ।