एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेसी चोटपछि मैदान फर्किएको खेलमा क्याटलन जायन्ट बार्सिलोनाले आइतबार राती हुस्का विरुद्ध साँघुरो जित निकालेको छ ।
हुस्काको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले १–० को साँघुरो र महत्वपूर्ण जित निकाल्यो । २७औं मिनटमा बार्साका लागि फ्रेंकी डि जंगले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । आइतबार क्लबका लागि ७५०औं र ला लिगामा ५००औं खेल खेलेका मेसीले नै त्यो गोलका लागि अवसर मिलाइदिएका थिए ।
गत सोमबार मात्र आइबरसँग १–१ गोलको बराबरी खेलेको बार्सिलोनाले सो खेलमा मेसीले स्ट्याण्डबाट टोलीको खेल हेरेका थिए । साथै त्यस खेलमा मार्टिन ब्राथवेटले पेनाल्टी मिस गर्नु पनि बार्सिलोनाका लागि दुर्भाग्य साबित भईदिएको थियो ।
आइतबारको जितसँगै १६ खेलबाट २८ अंक जोड्न सफल बार्सिलोना लिगतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । उता पराजित हुस्का भने १२ अंकका साथ लिगतालिकाको पुछारमा रहेर संघर्षरत छ ।