मार्टिनेजको ह्याट्रिकसँगै शिर्ष स्थानमा पुग्यो इन्टर

एजेन्सी । लौतारो मार्टिनेजले ह्याट्रिक गरेपछि इटालियन सिरि ए तर्फ आइतबार इन्टर मिलानले शानदार जित निकाल्दै लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

शानदार जित निकाल्ने क्रममा इन्टरले पुछारको टोली क्रोटोनी विरुद्ध ६–२ को जित निकाल्यो । यद्यपि खेलको १२औं मिनटमै निकोलो जेनिलाटोको गोलबाट क्रोटोनीले खेलमा सनसनीपुर्ण अग्रता बनाएको थियो ।

तर खेलमा सहजै फर्र्किएको इन्टरका लागि २०औं मिनटमा लौतारो मार्टिनेजले पहिलो गोल गरे । ३१औं मिनटमा लुका मरोनले आत्मघाती गोल गर्दा इन्टरले खेलमा २–१ को अग्रता बनाउन सफल भयो ।

तर खेलमा क्रोटोनीले पेनाल्टीको अवसर पायो । जसलाई ३६औं मिनटमा भ्लादिमिर गोलेमिकले गोलमा परिणत गर्दै खेल २–२ को रोमाञ्चक बराबरीमा ल्याए । यद्यपि दोस्रो हाफमा भने इन्टर आक्रमक बन्यो ।

५२औं मिनटमा मार्टिनेजले नै इन्टरका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे । ६४औं मिनटमा रोमेलु लुकाकुले इन्टरको त्यो अग्रता ४–२ मा पुर्याए । तर इन्टर त्यति मै रोकिएन ।

७८औं मिनटमा मार्टिनेजले नै इन्टरका लागि पाँचौं तथा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक समेत पूरा गरे । त्यस्तै खेलको अन्तिमतिर ८७औं मिनटमा अचरफ हाकिमीले इन्टरका लागि छैटौं गोल गर्दै टोलीको शानदार जित पक्का गरे ।

यो जितसँगै १५ खेलबाट ३६ अंक जोडेको इन्टर शिर्ष स्थानमा पुगेको छ । एक खेल कम खेलेको इन्टरको शहरी प्रतिद्वन्द्वी ३४ अंकका साथ दोस्रो स्थानमा छ । उता इन्टरसँग पराजित क्रोटोनी भने केवल ९ अंकका साथ पुछारमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...